रोल्पा । पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा पठाइएको एक सय थान एन्टिजेन किट आइतबार रोल्पा अस्पताललाई हस्तान्तरण गरिएको छ ।
कांग्रेस रोल्पाका पार्टी प्रवक्ता कविता उपाध्यायले अस्पताल विकास समिति रोल्पाका अध्यक्ष फबिन्द्र आचार्य, रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढा र स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
किट ग्रहण गर्दै समितिका अध्यक्ष आचार्यले हालको विषम परिस्थितिमा प्राप्त किटले एक सयजना रोल्पालीको परीक्षणमा थप सहयोग पुग्ने बताउदै खुशी ब्यक्त गरे । उनले नेपाली कांग्रेस र सभापति पुनलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोगको अपेक्षा गरेकोसमेत बताए ।
कोरोना भाइरसले मुलुक आक्रान्त भइरहेका बेला रोल्पामा स्वास्थ्य सामग्रीको चरम अभाव भएपछि पुनले शनिबार एक सय थान किट उपलब्ध गराएका हुन् ।
सरकारले अन्य जिल्लालाई हजारौं किट उपलव्ध गराइरहँदा रोल्पालाई चरम अभाव भैरहनु दुःखद पक्ष भएको पुनले बताए । यसरी सरकारले लिएको विभेदकारी नीतिले सरकारको आँखा खुलोस भनी कांग्रेस रोल्पाले किट उपलव्ध गराएको समेत उनको भनाइ थियो । रोल्पामा पनि मानव बस्ती छ र त्यहाँ पनि संक्रमितहरु छन् भन्ने कुरामा सरकारको दृष्टि पुगोस् भनी संकेत गर्न किट उपलव्ध गराएको उनले बताए ।




