काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलका लागि भोट मागेका छन् ।
उनले पार्टीले यसअघि नै बादललाई भोट हाल्न निर्देशन गरेको जानकारी दिँदै सो निर्णयविरुद्ध जानेलाई कारबाही गर्नेसमेत चेतावनी दिएका छन् ।
‘यस निर्वाचनमा हाम्रो एकतावद्ध सङकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने छ । अतः यस निवाचनमा पार्टीका उमेदवार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,’ ओलीले भनेका छन् ।
उनले पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाल्नु कल्पना बाहिरको कुरा भएको पनि यनले बताएका छन् । ‘अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकतावद्ध बनाउनका लागि कार्यदल बनेर कामसमेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो । पार्टीको आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति वहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागिसमेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,’ उनले विज्ञप्तिमा भनेका छन् ।






