समाचार

बाजुरा पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल बनाउन दिने काग्रेशको घोषणा

बाजुरा ।जिल्लामा दिन प्रतिदिन नयाँ भेरियन्टका कोरोना सङ्क्रमित बढ्दै गएपछि उपचारमा अभाव हुन नदिन नेपाली काँग्रेस बाजुराले पार्टी कार्यालय रहेको विपी स्मृति भवनलाई अस्थायी कोभिड अस्पताल बनाउन दिने घोषणा गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३११ पुगेको र सङ्क्रमितलाई उपचारका लागि असहज नहुन दिनका लागि पार्टी कार्यालय नै कोभिड अस्पताल बनाउन दिने घोषणा गरेको काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए ।

जिल्ला अस्पताल बाजुरामा समेत कोभिड अस्पताल बनाउने ठाउँ नभएको र दैनिक रुपमा बिरामीको सङ्ख्या बढ्दै गएकाले नागरिकको स्वास्थ्योपचारका लागि पार्टीका नेताहरुको सल्लाहअनुसार नै उक्त कार्यालय कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको पार्टीका सचिव दीपकविक्रम शाहले जानकारी दिए । नागरिकको स्वास्थ्य उपचार नै ठूलो भएकाले पार्टी कार्यालय सहज रुपमा कोभिड अस्पताल बनाउन जिल्ला सङ्कट व्यवस्थापन समितिलाई जानकारी गराएको सचिव शाहले बताए।

औषधि र आवश्यक जनशक्ति व्यवस्था गर्न प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

नेपाली काँग्रेस बाजुराले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा समेत फेलिएकाले तत्काल जिल्लामा आवश्यक स्वास्थ्यको औषधि र जनशक्ति व्यवस्था गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट खासै ध्यान नदिएको प्रति नेपाली काँग्रेस बाजुराको ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहमा देश तथा विदेशबाट आइरहेकाले स्थानीय सरकार मुकदर्शक बनेकाले तिनीहरुको पिसिआर परीक्षण र कोरोना पुष्टि भएकालाई क्वारेन्टिनमा राख्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले तत्काल व्यवस्था गर्न पहल गर्नुपर्ने ज्ञापनपत्रमा छ । जिल्लामा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री अभाव भएको र भेन्टिलेटर र पिसिआर मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति नभएकाले तत्काल व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको सभापति पण्डितले बताए।

ज्ञापनपत्रमा महामरी गाउँगाउँमा फैलिएकाले उनीहरुको कोरोना परीक्षणका लागि तत्काल एन्टिजेन उपलब्ध गराई परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भेन्टिलेटर नहुँदा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता भएकाले पिसिआर मेसिन र भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *