बागमती प्रदेश

सिभिल अस्पताल कोभिड अस्पतालमा परिणत

काठमाडौं । काठमाडौंको मीनभवस्थित सिभिल अस्पताल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण भएको छ ।

शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौतापछि सिभिल अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार सिभिल अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार गरिनेछ । यसका लागि लागि वागमती प्रदेश सरकारले सिभिल अस्पताललाई दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले खर्च गर्ने भएको छ ।

सम्झौता अनुसार १५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक, भौतिक (औषधि, उपकरण, भवन आदि) जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ ।

यसका साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतामा मन्त्रालयका तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताका तर्फबाट कार्यकारी निर्देशक डा. विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता हिजो (शुक्रबार) देखि नै लागु भएको सिभिल अस्पताल प्रशासनले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *