दमौली । तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा चार सदस्यीय टिम गठन गरेको हो ।
टिमको सदस्यमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी रहेका छन् । आइतबार भानु नगरपालिकाका एक वृद्धले समयमै उपचार नपाएर दमौली अस्पतालबाहिर एम्बुलेन्समै ज्यान गुमाउनुपरेपछि अस्पताल र प्रशासनको आलोचना हुँदै आएको छ ।
बैठकले दमौलीमा रहेको कृषि विकास बैंकको पुरानो भवनमा होमआइसोलेसनमा बस्न स्थान नभएका विपन्न व्यक्तिका लागि स्वास्थ्यकर्मी र अक्सिजनको सुविधासहित व्यास नगरपालिकाले सामूहिक आइसोलेसन सेन्टर सञ्चालन एवं व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य सामग्री र औषधिको प्रबन्ध गर्ने, प्रत्येक स्थानीय तहले सङ्क्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्न आवश्यक पर्ने सवारी साधन, शववाहन, पिपिइलगायतका सामग्री व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
होम आइसोलेशनमा र स्वास्थ्य संस्थामा रहेका सङ्क्रमितसँग स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई निरन्तर सम्पर्कमा राख्ने, सङ्क्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजान पर्दा सम्बन्धित अस्पतालका प्रमुखसँग समन्वय गर्ने, सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेसनमा बिरामीको अवस्था र दिनुपर्ने सेवाका आधारमा सङ्क्रमितको उपचार प्रबन्ध मिलाउने, सङ्क्रमितलाई उपचारका लागि पोखरा र अन्य अस्पतालमा पठाउनुपर्दा अस्पतालका विशेषज्ञ चिकित्सकले पठाउनुपर्ने अस्पतालसँग समन्वय गर्ने निर्णय भएको छ ।
त्यसैगरी स्थानीय तहमा स्वास्थ्य शाखा प्रमुख रहने गरी गठन भएको अनुगमन समितिले होमआइसोलेसन र क्वारेन्टिनको अनुगमनमा जिम्मेवार बनाउने निर्णयसमेत भएको प्रशासनले जनाएको छ ।




