काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्णरुपमा असफल भएको बताएका छन् ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने थाहा पाउदा पाउदै विश्वासको मत लिन खोजेको बताए । सरकार संबिधान अनुसार चलेको छ त ? भन्ने प्रश्न उठेको भन्दै सभापति देउवाले इतिहासले प्रश्न गरिरहेको बताए ।
सभापति देउवाले जनताले नेकपा एमाले र माओवादी केन्द्रलाई दुई तिहाई बहुमतको सरकार बनाउने जिम्मा दिएकोमा तीन बर्षमै विश्वासको मत लिन प्रधानमन्त्री आएको यस घटनाको जिम्मेवारी कसको हो ? प्रधानमन्त्रीको नै भएको बताए । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई अरुलाई प्रश्न गरेर भाग्न नपाउने बताएका छन् ।
सभापति देउवाले भने, ‘अहिले हामीले संसदमा बोलिरहदा नागरिक सडकमा अस्पतालको पेटीमा, एम्बुलेन्समा मरिरहेको, छटपटाइरहेको अवस्था रहेको छ । हाम्रो पार्टीले पटक पटक सरकारलाई ध्यानाकर्षण गर्दा पनि सरकारले सुन्दै सुनेन । विज्ञहरुले कोरोनाको लहर पटक पटक आउने भनेर दिएको चेतावनी सरकारले बेवास्ता गरेको छ ।’
खोप ल्याउन सरकारले समयमा पहल नगरेको आरोप लगाउदै सभापति देउवाले महामारीको बेला औषधि र खोपमा अनियमितता गर्नु मानवीयविरुद्धको अक्षम्य अपराध भएको बताए ।
‘एक बर्षअघि औषधि, पीपीइ, र स्वास्थ्य सामग्रीमा अनियमितता भयो अहिले खोपमा अनियमितता भएको छ, यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ।’ देउवाले भने ।




