काठमाडौँ । प्रतिनिधिसभाको विशेष अधिवेशन अन्तर्गत दोस्रो बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबमोजिम विश्वासको मत लिन सूचना दिएकाले सो प्रयोजनका लागि १५ मिनेट बैठक स्थगित गरेका थिए । त्यसपछि पुनः बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन्।
प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन प्रकारका मत जाहेर गर्ने व्यवस्था गरिएको छ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन् । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।
मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकाहरुलाई मुख्य सभाकक्ष र पोजिटिभ संक्रमणलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको छ । हाल कोरोना संक्रमणबाट २८ सांसद प्रभावित भएको बताइएको छ ।
नेपाल समूह अनुपस्थित
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले भित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद्को यो अधिवेशन राखिएको छ । एमालेको माधवकुमार नेपालले नेतृत्व गरेको समूहले भने अधिवेशनमा उपस्थित नहुने जनाइसकेको छ ।
संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्था नुसार नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मदआफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन् , उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिनेछन् । अधिवेशनमा २६६ सांसदले मतजाहेर गर्नेछन् ।
प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतमा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।




