लुम्बिनी प्रदेश

दाङमा बढ्दो छ सङ्क्रमणको सकस

तुलसीपुर । बाँकेसँग सिमाना जोडिएर पनि होला दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढिरहेको छ । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । बुधबारसम्म यस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार हाराहारीमा छ । सक्रिय सङ्क्रमित थपिने क्रम हरेक दिन बढ्दो छ । त्यस्तै यस जिल्लामा कोरोना भाइरसको सङक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९७ पुगेको छ ।

यहाँका चिकित्सकहरु भन्छन्– यसपटकको कोरोना भाइरस गतवर्षको भन्दा कडा खालको देखिएको छ र यसले तत्कालै तथा गम्भीर रुपमा असर गर्ने गर्दछ । उनीहरुले भनेअनुसार यो भाइरसले अन्य रोग भएका सङ्क्रमितलाई निकै सताउने गरेको छ । सङ्क्रमण भएको १४ दिनमा लक्षणहरु विस्तारै घट्दै जानुपर्ने भनिए पनि यहाँका कतिपय सङ्क्रमितहरुले त्योभन्दा पनि लामो समयसम्म सास फेर्न गाह्रो हुने, खोकी लागिरहने भइरहेको बताएका छन् ।

त्यसो त यहाँ कोरोनालाई जित्नेहरु पनि बढ्दै छन् । दोस्रो चरणमा सङ्क्रमित भएकाहरुमध्ये धेरैजना कोरोना जितेर घर फर्किसकेका छन् । मङ्गलबार मात्रै यस जिल्लाका १९६ जनाले कोरोना जितेका छन् । उनीहरुले अवस्था सामान्य रहेको बताएका छन् ।

जिल्लामा कोरोना विशेष अस्पताल बेलझुण्डी छ । प्रदेश सरकारले साबिक राप्ती अञ्चलका सङ्क्रमितलाई राख्नका लागि भन्दै बेलझुण्डीमा कोरोना विशेष अस्पताल निर्माण ग¥यो । त्यो नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद शिक्षण अस्पतालको भवन हो ।

अहिले दोस्रो चरणका रुपमा देखिएको सङ्क्रमण अघिल्लो वर्षको भन्दा तीव्र रुपमा फैलिएको छ । केही समय त विश्वविद्यालयले भवन छोड्न नमानेपछि शय्या(बेड) थप गर्न समस्या भयो । त्यतिबेलासम्म तल्लो तलामै अस्पताल सञ्चालन थियो, माथिल्लो तलामा विएएमएसका विद्यार्थीहरुको कक्षा चल्थ्यो ।

जब बन्दाबन्दी भयो त्यसपछि भने विश्वविद्यालयले माथिल्ला दुईवटा तलालाई पनि अस्पताल विस्तार गर्न दिने सहमति भयो र चावी हस्तान्तरण गरेपछि बेड सङ्ख्या पनि थप भयो । अस्पतालका व्यवस्थापक द्रोण ओली भन्छन्, ‘‘अहिले बेड सङ्ख्या ४२ हो, तर हामीले ५९ जनासम्म विरामी राखेर उपचार गरिरहेका छौँ ।”

अस्पतालमा शय्या थप्नुभन्दा पनि बेडमा राखिएका सङ्क्रमित अनुसार अक्सिजन पु¥याउन सकस छ । गएको आइतबार बेलझुण्डी अस्पतालमा तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी ४८ वर्षीय सङ्क्रमितको अक्सिजन नपाएरै मृत्यु भयो ।

दैनिक करिब पाँचसय सिलिण्डर अक्सिजन भएमा एकसय विरामीलाई सेवा दिन सक्न्छि तर अस्पतालमा अक्सिजन पर्याप्त छैन । करिब दुई सयको हाराहारीमा मात्रै अक्सिजन छ । त्यसले विरामीलाई पुर्याउनै सकस हुन्छ । जिल्लाको घोराहीमा दैनिक दुई हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको उद्योगको छ । तर विद्युत् आपूर्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

उता तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको अक्सिजन प्लान्ट विग्रिएको तीन महिना भयो, मर्मत गर्नेतर्फ कसैको ध्यान गएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विनोद सिंह भन्छन्, ‘‘मेसिन काठमाडौँ आइपुगेको छ, केही दिनमा तुलसीपुर आउछ ।” अहिले नेपालगञ्जबाट अक्सिजनको आपूर्ति भइरहेको छ ।

जिल्लामा अक्सिजन उत्पादन गर्ने उद्योग तथा प्लान्टहरु सञ्चालनमा नआउँदा द्रोण ओली, पदमप्रसाद पोखरेलहरु अहिले तड्पिरहेको देखिन्छ । ओली बेलझुण्डी अस्पतालका व्यवस्थापक छन् । सङक्रमतिलाई बचाउने जिम्मेवारीमा उनी छन् । ओली आफै पनि यसअघि कोरोना सङ्क्रमित भएका थिए तर पनि सङ्क्रमितकै हेरचाह गर्ने गर्चे । उनी अहिले पनि सङ्क्रमितकै हेरचाहमा छन् । उनी भन्छन्, ‘‘अक्सिजन आपूर्ति सहज भएमा सबै सहज हुन्थ्यो ।”

तुलसीपुर निवासी पदमप्रसाद पोखरेल पनि अहिले अक्सिजनको जोहो गर्ने काममा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकाले उनलाई अक्सिजन र शव व्यवस्थापनको जिम्मा दिएको छ ।

यो वर्ष लागेदेखि नै उनीहरुलाई दिन र रात भन्ने नै छैन । विहान झिसमिसेदेखि साँझसम्म उनीहरु यही व्यवस्थापनमा छन् । बिहानैदेखि उनीहरुलाई फोन आउन शुरु हुन्छ र सबैको यही एउटै प्रश्न हुन्छ ‘अक्सिजन चाहियो, छ की छैन् ?’ त्यसपछि आवश्यकताअनुसार उहाँले साथीहरुलाई अनुरोध गर्नुहुन्छ र अक्सिजन बोकेर घरमै पुग्नुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिकाभित्र ‘होम आइसोलेसन’ मा बसेका प्रत्येकलाई अक्सिजन पु¥याउने जिम्मा पदमलाई नै छ । “उपमहागरपालिकाले यसको सम्पूर्ण जिम्मा मलाई दिएको छ”, उनले भने “त्यसैले अहिले घर–घरमा अक्सिजन लिएर दौडिरहेका छु” उनले व्यवसायीसँग भएका सम्पूर्ण अक्सिजन सिलिण्डहरु सङ्कलन गरेको छ र तिनै अक्सिजन जुन संक्रमितलाई आवश्यक पर्छ उनीहरुलाई नै प्रदान गर्दै आएका छन् ।

फोन आउने वित्तिकै स्वास्थ्यकर्मीसहित घर–घरमै पुग्छन्, र आवश्यक हो भने अक्सिजन प्रदान गर्छन् यदि आवश्यक होइन भने सल्लाह सुझाव दिएर फर्किन्छन् । “अहिले धेरैजना सङ्क्रमितले फोन गर्नुहुन्छ र पछि गाह्रो हुनसक्छ, त्यसैले अक्सिजन दिनुस् भनेर अनुरोध पनि गर्नुहुन्छ”, पदम भन्छन्, “हामीले अतिआवश्यक पर्नेहरुलाई मात्रै दिने गरेका छौँ, यदि गाह्रो भयो भने भन्नुहोला जति बेला पनि हामी हाजिर हुन्छौँ ।”

अक्सिजनका सिलिण्डर निःशुल्क रुपमा घरमा पुर्याउने गरिएको छ । अहिले उपमहानगरपालिकासँग ३०÷३५ वटा अक्सिजन सिलिण्डर छन् । उपमहानगरपालिकासँग यसअघि ६०/६५ वटा सिलिण्डर भएपनि बेलझुण्डी अस्पतालले माग गरेपछि त्यहाँ प्रदान गरिएको हो । अझै पनि तुलसीपुरमा कहाँ–कहाँ अक्सिजनका सिलिण्डर हुन सक्छन्, ती व्यवसायीहरुको पहिचान गरी सिलिण्डर सङ्कलन गर्ने गरी उपमहानगरपालिकाले तयारी थालेको छ ।

बेलझुण्डी अस्पतालमा गाह्रो

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीलाई समस्या हुने गरेको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीले एक सय शय्या रहेको सो अस्पतालमा हालसम्म ५७ जना बिरामी उपचाररत रहेको र अक्सिजनको सहज उपलब्धता नहुँदा समस्या हुने गरेको बताए ।

उनले भने, “अस्पतालमा अक्सिजन छैन, विरामी भर्नाका लागि मलार्ई सिफारिस र दवाब नदिनुहोला ।” उनले अक्सिजन व्यवस्थापनका लागि सहयोग गरिदिन सरोकारवाला सबैलाई अनुरोध पनि गरेका छन् । सो अस्पतालमा पाँच सघन कक्ष र ७५ शय्या अक्सिजनसहितका छन् । त्यस्तै अन्य सामान्य शय्या रहेका छन् ।

कोरोना अस्पता बेलझुण्डीमा पछिल्लो २४ घण्टमा दुई जना विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सघन कक्षमा उपचाररत कोरोना सङ्क्रमित हुन् । मृत्यु हुनेमा घोराही उप महानगरपालिका– १८का ४५ वर्षीय महिला र घोराही उपमहानगरपालिका– १५का ६५ वर्षीय पुरुष रहेको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए।

ती महिला गत वैशाख १५ गतेदेखि सो अस्पतालमा उपचाररत रहेकी र उनको हिजो दिउँसो मृत्यु भएको हो । त्यस्तै पुरुष गत वैशाख १७ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको हिजो बिहान मृत्यु भएको हो । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका बिरामीको उपचार हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *