काठमाडौं । भारतमा कोरोनाभाइरस सङ्क्रमणको लहरकाबीच सघन उपचार बेड, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।
गत २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ३ लाख ४९ हजार६सय९१जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ७९ लाख ६० हजार १ सय ७२ पुगेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोभिडका कारण २,७६७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कुल मुत्यु हुनेको सङ्ख्या १ लाख ९२ हजार ३ सय ११ रहेको छ। ३० लाख सङ्क्रमित पछिल्लो दुई हप्तामा थपिएका हुन्। र, अझै त्यहाँ प्रत्येक दिन सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या थपिने क्रम जारी छ।
भारतमा देखिएको विनाशकारी प्रभाव त्यहाँका शवदाह स्थलहरूमा खिचिएका तस्बिरहरूले स्पष्ट पारेका छन्, जसमा शोकमा डुबेका परिवार सदस्यहरू अन्तिम संस्कारक लागि घन्टौँ कुरिरहेको र दाहसंस्कारका लागि स्थानको अभाव भएसँगै सामूहिक रूपमा गरिएको देख्न सकिन्छ।
दाहसंस्कार स्थलहरूमा केही दिन बिताएर मृत्यु भएकाहरूको सङ्ख्या गनेका पत्रकारहरूले सरकारी तथ्याङ्कलाई चुनौती दिइरहेका छन्।
केही सहरहरूमा सरकारले बताएको भन्दा मृत्यु हुनेहरूको सङ्ख्या १० गुणा बढी रहेको उनीहरूले आकलन गरेका छन्।
बीबीसी गुजरातीले गत हप्ता गरेको एउटा रिपोर्टमा सुरत सहरको शवदाहगृह लामो समयसम्म निरन्तर चलाइएका कारण तापले त्यहाँको चिम्नी नै पग्लिन सुरु भएको उल्लेख गरिएको छ। तर सरकारले हालसम्म कुनै पनि स्थानमा आधिकारिक तथ्याङ्क संशोधन गरेको छैन। बीबीसीबाट साभार





