दोलखा। दोलखाको कालिञ्चोक मन्दिर क्षेत्रमा वैशाखमै भारी हिमपात भएको छ । बिहीबार बिहान ५ बजेबाट झन्डै चार घण्टा हिमपात भएको थियो । बुधवारबाट मौसममा बदली भएपछि बिहीबार बिहानैबाट हिमपात भएको होटल सुनपातिका सञ्चालक हरि ओलीले जानकारी दिएका छन् ।
कोरोनाको दोस्रो लहर सुरूभएपछि कालिञ्चोकमा पर्यटक घटेका छन् । तैपनि कालिञ्चोक मन्दिर क्षेत्रमा अहिले पाँच सयभन्दा बढी पर्यटक छन् । मौसम सफा भइनसकेकोले पुनः हिमपातको सम्भावना रहेको स्थानीयको भनाइ छ । अहिले कालिञ्चोक क्षेत्रमा आधा फिट हिउँ जमेको ओलीले बताए ।




