
भारत । भारतको महाराष्ट्र राज्यको नासिकको एउटा अस्पतालमा अक्सिजन ट्यांकर चुहिँदा कम्तीमा २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नासिकको जाकिर हुसेन अस्पतालमा बुधबार बिहान अस्पतालको बाहिर रहेको अक्सिजन ट्यांकर चुहिँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो । जसले गर्दा भेन्टिलेटरमा उपचार भइरहेका करिब १५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएनन् ।
अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन चुहिएपछि अस्पताल परिसर पूरै कुहिरीमण्डल बनेको दृश्य सार्वजनिक भएको छ । लामो प्रयासपछि प्राविधिकहरु चुहावट रोक्न सफल भएका थिए । घटनालगत्तकै अक्सिजन आवश्यक सिकिस्त बिरामीहरुलाई तत्कालै अन्य अस्पतालमा सारिएको छ । घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ ।
भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै मुलुकभर अक्सिजनको हाहाकार मच्चिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।