काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले जनताको निर्वाचित थलोसँग डराएर सरकारले बारम्बार संसदमाथि प्रहार गरेको बताएका हुन् ।
‘यो सरकार अधिनायकवादी हो । पुस ५ मा संसद विघटनको अवैधानिक कदम चाल्ने सरकारले संसद पुनःस्थापनापछि पनि संसद असफल बनाउन अनेक हर्कत गरेको छ । संसद अधिवेशनको अन्त्य गरेर सरकारले बहादूरी होइन कायरता देखायो’, सिंहले भने । उनले सरकारविरुद्ध उचित समयमै उपयुक्त कदम चाल्न दलहरु चुक्न नहुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समिति, उपत्यका प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको थियो ।




