दमौली । तनहुँको भानु नगरपालिकाका कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् ।
कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहबरमा केही व्यक्तिले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेकामा नगरपालिकाबाट गठित वार्ता टोलीसँग सहमति भएपछि कर्मचारीले आजबाट आन्दोलन फिर्ता लिएका हुन् ।
आन्दोलनरत कर्मचारी र गठित वार्ता समितिबीच भएको वार्ताबाट कर्मचारीको माग सम्बोधन गर्नेतर्फ नगर कार्यपालिकाको आकस्मिक बैठकबाट प्रक्रिया अगाडि बढेकाले आन्दोलन फिर्ता लिइएको कर्मचारीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कर्मचारीमाथि चोरीको आरोप लगाई गरिएको मुचुल्का झुटा ठहर गरी बदरसमेत गरिएको पत्र सम्बन्धित सुरक्षा निकायबाट प्राप्त भएको र कर्मचारीका लागि शान्ति, सुरक्षाका साथ उच्च मनोबलसहित काम गर्ने वातावरण निर्माण गर्नका लागि प्रशासन कार्यालयबाट प्रतिबद्धता प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
नगरप्रमुख उदयराज गौलीले नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्दै भयरहित ढङ्गले उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माणमा नगरपालिकाका प्रतिबद्ध रहेको बताए । “नगरपालिकाको निर्देशनमा कर्तव्यमा खटिएका कर्मचारीमाथि चोरीको आरोप लगाई कर्मचारीलाई भयभित बनाई उनीहरुको मनोबल गिराउन गरिएको उक्त अमर्यादित, अमानवीय र निन्दनीय कार्यप्रति दुःख व्यक्त गर्दछौँ”, नगरप्रमुख गौलीले भने ।
कर्मचारीलाई शान्ति सुरक्षाको ग्यारेन्टी, दोषीउपर कारबाही, झुटो मुचुल्का खारेजी, कार्यालयमा काम गर्ने अनुकूल वातावरण निर्माण तथा आगामी दिनमा यस प्रकारका अमानवीय क्रियाकलाप नदोहोरिने प्रतिबद्धता व्यक्त गरिएको गौलीले बताए ।
चैत २० गते नगरपालिकाको कार्यालय फुस्रेटारबाट केही कार्यालय सामग्री कार्यालय प्रयोजनका लागि स्थानानान्तरण गर्ने क्रममा केही व्यक्तिले कर्मचारीलाई चोरीको आरोप लगाएका थिए ।




