विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।
सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् ।
प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले यस अघि विशेष परिस्थितिमा अविश्वास प्रस्ताव दर्ता गरिएको भएपनि अहिले असान्दर्भिक भएकाले फिर्ता लिइएको बताए ।
गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अन्योलता बढेको थियो ।
त्यस्तै नेकपा एमालेको माधवकुमार नेपाल-खनाल पक्षले भने चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थियो ।




