नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा दुई महिना अभियानको घोषणा गरेको छ । कलंकीको एक पार्टी प्यालेसमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए ।
‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भट्टराईले बताए । यसक्रममा अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ ।
माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताए ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने निलम्बनको घोषणा गरेपछि सो समूहले निरन्तर बैठक र भेला गर्दै आएको छ ।




