समाचार

ओलीलाई वामपन्थी नेता टंक कार्कीको पत्र : विभाजित जहाजबाट गन्तव्यमा पुगिँदैन, आत्मघाती कदम रोक्नोस्

काठमाडौं । वामपन्थी नेता टंक कार्कीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई आफूले गरेका निर्णय सच्याउन सुझाव दिएका छन् ।
एमाले अखिलका पूर्व नेता एवं चीनका लागि पूर्वराजदूत भइसकेका कार्कीले माधवकुमार नेपाल र भीम रावललाई कारबाही गर्ने निर्णय आत्मघाती हुने स्पष्ट पारेका छन् ।

माधव नेपाल र भीम रावललाई निलम्वन गर्ने काम शक्तिको भोर जुवामा उस्तो अर्थ नराखे पनि विवेक र राजनीतिक सुझबुझको दुनियाँमा त्यसको अर्थ जायज नमानिने उनले जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– कमरेड ओली, यो त अति भो ! अँ, हिजो तपाईलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने हर्कत जुन गलत थियो, त्यसलाई तपाईका आलोचक रहेका राजनीतिक साथीहरुले नै रोकेका होइनन् ? अहिले माधव नेपाल र भिम रावललाई निलम्वन गर्ने जस्तो जुन काम गर्नु भुको छ शक्तिको भोर जुवामा उस्तो अर्थ न राख्ला तर विवेक र राजनीतिक सुझबुझको दुनियाँमा त्यसको अर्थ जायज मानिदैन, उत्ताउलो, हाँगामा बसेर फेद काट्ने कालिदासको तरिका, कसलाई खुँदो पल्टेको होला ? जो एमालेको एकता र संगठित प्रयासमा आफ्ना निहित निसाना साँध्नमा तगारा देख्छन्, त्यस्ताको उलामालामा लागेर यत्रो आन्दोलनको भविष्य जोखिममा पुर्याउने कार्यको निम्ति तपाईलाई इतिहासले सधैंभरि कोपरी रहने छ ।
२०७५ जेठ २ गते अघिको अवस्थाको संगठनात्मक दायरामा रहेर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने साथीहरु माथि जुन बन्चरो चलाउँदै हुनुहुन्छ यो आत्मघाती छ रोक्नोस् र सच्याउनोस् । ओलिजीका राजनीतिक साथीहरु पनि सोच्नोस् र वहाँलाई रोक्न लगाउनोस्, विभाजित जहाजबाट गन्तव्यमा पुगिँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *