शिक्षा / स्वास्थ्य

चितवनमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

चितवन । काठमाडौंपछि पहिलो पटक चितवनमा कलेजोको प्रत्यारोपण सफल रुपमा गरिएको छ ।

चितवन मेडिकल कलेजका डा. सञ्जय यादब, डा. उकानन्द सिंहलगायतका १२ जनाको टोलीले चैत ८ गते भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी ५४ वर्षीया धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको हो । धनकुमारी लामालाई उनकी छोरी उषा तामाङले प्रत्यारोपणको लागि कलेजो प्रदान गरेकी थिइन् ।

दुई वर्ष अगाडि अनुमति लिएर चितवन मेडिकल कलेजले लामो समय आन्तरिक तयारी र आबश्यक उपकरण तथा दक्ष जनशक्ति तयार पारेर कलेजो प्रत्यारोपण गर्न सफल भएको अस्पतालका अध्यक्ष हरिष न्यौपानेले बताए ।

योसहित नेपालमा कलेजो प्रत्यारोपण आठ जनामा भएको चिकित्सक सञ्जय यादबले बताए । कलेजो प्रत्यारोपणको लागि अब बाहिर जानु नपर्ने र बिदेशको तुलनामा नेपालमै सस्तोमा कलेजो प्रत्यारोपण हुने चिकित्सकहरु बताउँछन् ।

भारतमा कलेजो प्रत्यारोपण गरेको ५० लाख भारु पर्ने गरेकोमा अब २५ लाख नेपाली रुपैँयामा गर्न सकिने अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपणका लागि १२ घण्टा लागेको थियो । कलेजो प्रत्यारोपण गरिएकी धनकुमारी र कलेजो प्रदान गर्ने उषा तामाङ दुवैको अवस्था राम्रो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *