काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली थापाथली हाइटस्थित पार्टीको नयाँ कार्यालय भवन निरीक्षणका लागि जाने भएका छन्। एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेकाले सो भवनको निरीक्षण गर्न ओली जान लागेका हुन् ।
एमालेले भाडामा लिन लागेको सो घर सञ्जय अग्रवालको रहेको बताइन्छ । प्रधानमन्त्री ओलीले निरीक्षणपछि आजै सम्झौता गरेर एमालेले पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेको केन्द्रीय कार्यालय अब थापाथली हाइट उमंगमार्गस्थित नेपाल हस्तकला उद्योग महासंघको कार्यालयअगाडिको भवनमा सार्न लागिएको हो।
चक्रपथ विस्तारको समस्या र सामाजिक संस्थाको भवन भएका कारण कार्यालय सार्ने तयारी पहिलादेखि नै भइरहेको एमाले कार्यालय सचिव ईश्वरी रिजालले बताए । ०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि यति समूहको पासाङ ल्हामु प्रतिष्ठानको भवन धुम्बाराहीमा सरेको थियो । यति समूहको घरमा पार्टी कार्यालय राखेदेखि नै प्रधानमन्त्री ओली विवादमा तानिएका हुन् । उनले यति समूहलाई फाइदा हुने गरी सरकारी निर्णय गर्दै आएका छन् ।




