राजनीति

ओलीले जसपाभित्र खेलेपछि प्रचण्ड निरीह, सत्ता समीकरण तत्काल नबन्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता बचाउन पार्टीभित्र कारबाहीको डण्डा र जसपाभित्र खेलेपछि नयाँ सत्ता समीकरण तत्काल नबन्ने भएको छ । पार्टीमा आफ्ना विरोधीलाई कारबाही गर्न ओलीले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएका छन् । सोहीअनुसार अहिले उनले पार्टीका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही गर्ने उद्देश्यकै लागि पहिलो स्पष्टीकरण सोधेका छन् । जसकारण ओलीको विरोधी पक्ष रक्षात्मक बन्न पुगेको छ ।

एमालेमा सुरु भएको कारबाही प्रक्रियाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै चासो देखाएको छैन । कांग्रेस बरु १४औं महाधिवेशनको तयारीमा जुटेको छ । प्रधानमन्त्री ओलीलाई तत्काल पदच्यूत गर्न कस्सिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने निरीह बनेका छन् । उनले सबै शक्ति गुमाएका छन् । उनले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य गरेर उनले एक दर्जन नेता गुमाएका मात्र छैनन्, सबै दलका नेताको विश्वाससमेत गुमाएका छन् ।

माओवादी केन्द्रका मात्रै होइन, जसपाभित्र पनि ओलीले खेलेका छन् । उनले महन्थ ठाकुर र राजेन्द्र महतोलाई आफ्नो ग्रिपमा ल्याइसकेका छन् । एमालेमा कारबाहीको डण्डा बर्साइसकेपछि ओलीले जसपालाई विभाजन गराउने रणनीति अख्तियार गरेका छन् । माओवादी केन्द्र र जसपालाई थिलथिलो बनाएपछि ओली आफ्नो कुर्सीमा डेढ वर्ष आरामले बस्ने संकेत देखिएको छ ।

संसद विघटनको कानुनी लडाइँमा पराजित भए पनि प्रधानमन्त्री ओली त्यसपछिको रणनीतिमा सफल देखिँदै आएका छन् । सर्वोच्च अदालतले संसद ब्युँताएको एक महिना भइसक्यो, संसद ब्युँतेपछि ओलीलाई सत्ताच्युत गर्छु भनेर बिगुल फुक्ने प्रचण्डहरु उनीविरुद्ध बलियो गठबन्धन बनाउन सक्ने अवस्थामा अझै छैनन्। गठबन्धन बन्नै नदिन उनले सबैजसो राजनीतिक दलको एक खेमलाई आफू निकट राखेका छन्। जसले उनको सत्तालाई भरथेग गरिरहेको छ।

ओलीको चर्को आलोचनामा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत वैधानिक रुपमा उनलाई साथ दिइरहनुपर्ने बाध्यता आइपरेको छ। सर्वोच्च अदालतले नेकपा नाम विवाद साम्य पारेर एमाले र माओवादी अलगथलग गराइदिए पनि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेनन्।

ओलीविरुद्ध बलियो गठबन्धन बनाउने गृहकार्यमा रहेका प्रचण्ड गठबन्धन नबनी सरकारलाई दिएको समर्थन फिर्ता लिए ओलीको सत्तायात्रा झनै लम्बिने भन्दै दोधारमा परेका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिए ३० दिनभित्र ओलीले विश्वासको मत लिनेछन्। त्यसमा कांग्रेस वा जसपामध्ये एउटाले ओलीलाई साथ दिए ओली नै बाँकी कार्यकाल प्रधानमन्त्री रहने प्रचण्डको बुझाइ छ। त्यसैले अहिले उनी मौन बसेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *