एजेन्सी । अफ्रिकी देश तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन भएको छ । राजधानी दारेसलाममा मुटुको उपचारका क्रममा ६१ वर्षीय मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले टेलिभिजनमार्फत् घोषणा गरेका हुन्।
मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । विपक्षी नेताहरूले उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको दाबी गरेका थिए । तर, त्यसको पुष्टि हुन सकेको छैन।
तान्जानियामा मगुफुलीको विवादित नेताको पहिचान थियो। भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि उनको प्रशंसा हुने गर्छ। उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए। तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरङ्कुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो।
उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए। गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । गत जुन महिनामा मगुफुलीले तान्जनियालाई कोभिड–१९ मुक्त घोषणा गरेका थिए।




