एजेन्सी । संसारभर अहिले जुम्ल्याहा बच्चाहरूको जन्मदर सबैभन्दा उच्चस्तरमा पुगेको अध्ययनकर्ताहरूले बताएका छन्।
हाल प्रत्येक वर्ष संसारभरि १६ लाख जुम्ल्याहा बच्चा जन्मिने र कुल जन्मदर हिसाब गर्दा ४२ जन्ममा एक जन्म जुम्ल्याहा हुने तथ्यांक छ।
सन् १९८० यता जुम्ल्याहाको जन्मदर एक तिहाइले बढ्नुको कारण कृत्रिम गर्भाधान र ढिलो गरी बच्चा जन्माउने चलन भएको बताइएको छ।
तर एक बच्चा गर्भाधान सुरक्षित हुने भएका कारण भविष्यमा जुम्ल्याहाको जन्मदर घट्न सक्ने बताइएको छ।
ह्युमन रिप्रोड्क्सन जर्नलमा प्रकाशित विश्वव्यापी तथ्याङ्कको अध्ययनका अनुसार विगत ३० वर्षमा जुम्ल्याहा जन्मदर एसियामा ३२ प्रतिशत र उत्तर अमेरिकामा ७१ प्रतिशतले बढेको बीबीसीले जनाएको छ।
अध्ययनमा १६५ देशका तथ्याङ्क समावेश छ। सन् २०१० देखि सन् २०१५ को तथ्याङ्कलाई सन् १९८० देखि सन् १९८५ सम्मको तथ्याङ्कसँग तुलना गरेर यो नतिजा निकालिएको हो।




