समाचार

माधव नेपाल पक्षले आज पनि अर्याल होटलमा बोलायो बैठक, एमालेमा कसरी कघि बढ्ने भन्ने निर्णय लिँदै

काठमाडौं । एमाले पुनःस्थापना भएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पक्षको बैठक निरन्तर राखिरहेका छन् । बुधबार नयाँ बानेश्वरको अर्याल होटलमा केन्द्रीय सदस्यहरूसँग छलफल गरेका नेता नेपालले आज स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठकमा केन्द्रीय कमिटीबाट जुटेको सहमतिका विषयमा थप छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेसँगै पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने जनाउँदै नेपाल समूहले एमालेमै फर्किएको थियो ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा नेपाल र प्रधानमन्त्री केपी ओली पक्ष अलग अलग भएर हिँडेका थिए । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । तर, पछिल्लोपटकको सर्वोच्च अदालतको फैसलाले फेरि ओली र नेपाललाई एकै ठाउँमा ल्याइदिएको छ । अब ओलीविरुद्ध कसरी प्रभावकारी ढंगले अघि बढ्ने भन्ने विषयमा नेपालले आफू निकट नेताहरूसँग छलफल थालेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *