समाचार

माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टंक र पासाङ एमाले प्रवेश गर्दै

काठमाडौं । रामबहादुर थापा निकट मानिने प्रदेश १ का माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य एमाले प्रवेश गर्ने भएका छन् । प्रदेश १ का संसदीय दलका उपनेता एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्वसांसद पासाङ शेर्पा एमाले प्रवेश गरेका हुन् ।

केही दिनअगाडि प्रचण्ड–माधव नेपाल समूहमा लागेका आङ्बोहाङ र शेर्पा सर्वोच्च अदालतको फैसलापछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेका छन् । शेर्पा माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य बनेका थिए ।

प्रचण्डले जनमतको कदर गर्न नसकेको भन्दै उनीहरुले एमालेमा समाहित हुने निर्णय लिएका हुन् । दुवै नेताले एमाले नेता सुवासचन्द्र नेम्वाङलाई भेटेर एमाले आउने जनाउ दिएका छन् ।
पछिल्लो समय माओवादी केन्द्र छोड्ने नेताहरुको संख्या बढेको छ । सरकारमा गएका प्रचण्ड निकट ६ जना नेता एमालेमा समाहित हुने भएपछि माओवादी केन्द्र छोड्नेको संख्या बढेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्र छोडेर एमालेमा समाहित हुने निर्णयमा पुगेका हुन् । अहिले पूर्वमाओवादीका नेताहरुलाई ओली समूहले चोर्ने रणनीति लिएको छ । सोहीअनुसार वादल समूहका नेताहरुलाई ओली समूहमा ल्याउने कोसिस भैरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *