काठमाडौं । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याका मुख्य अभियुक्त दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेशलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो ।
अदालतको आदेशपछि दिनेशलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो ।




