काठमाडौं । आजको लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवाद सम्बन्धी फैसला मिति सरेको छ ।
सर्वोच्च अदालतलगाएत देशभरको अदालतमा आज शोक बिदा भएकोले नामको विवादमा फैसला आउने मिति पछि सरेको हो ।
पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज देशका सबै अदालत बन्द हुनेछन् ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर कायम भएको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ । तर सो नाम पहिले नै ऋषिराम कट्टेल नेतृत्वले दर्ता गरेको थियो । नेता कट्टेलले आफ्नो पार्टीको नाम अरुलाई दिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए ।
यसअघि गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
अहिले नेकपामा पनि ओली समूह र दाहाल नेपाल समूहबीच पनि विवाद रहेको र पार्टीको नाम र चुनाव चिन्ह हात पार्न दुबै समूहले दाबी गरिरहेको बेला सर्वोच्चको निर्णयलाई सबैले चासो दिएका छन् ।




