काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेका थिए।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा एक घन्टा भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ। सर्वोच्चको फैसलापछिको देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेको स्रोतले जनाएको छ।
सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन निश्चित समय तोकिदिएकाले सो विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको बुझिएको छ । नेकपा ओली समूहले प्रतिनिधिसभा बैठक बोलाउन सहमत भएको र सरकारले सो गृहकार्य थालिसकेको बताइन्छ ।




