काठमाडौं । नेकपा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको छ ।
त्यसैले सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठक केही दिनका लागि स्थगित गरेका हुन्।
सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक आह्वान गर्न आदेश दिएको छ । प्रतिनिधिसभा बैठक आह्वानका लागि मन्त्रिपरिषद् बैठक बस्ने, बैठकले राष्ट्रपतिलाई संसद बैठक आह्वानका लागि सिफारिस गर्नेलगायतका प्रक्रिया हुने भएकाले पार्टीको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।
बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको सम्मान गर्ने निर्णय गरेको थियो। तर, नेकपा ओली समूहका नेताहरुले भने व्यक्तिगत रूपमा असन्तुसष्ट जनाउँदै आएका छन् । उनीहरूले अब संसदमा सत्ताको खेल सुरु हुने भन्दै सरकार छाड्नै चाहेका छैनन् । कतिसम्म भने ओली नै निरन्तर प्रधानमन्त्रीमा रहने सो समूहका नेताको दाबी छ ।




