काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर तीन कैदीलाई सरकारले छुटकारा दिइएको खुलेको छ ।
प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सयभन्दा बढी जना कैद माफी मिनाहा गरेकी थिइन् । जसमा पौडेलको हत्यामा संलग्न ३ जना पनि परेपछि तरुण दलले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो ।
वि.सं. २०६८ पुसमा चितवन जिल्ला कारागारभित्रै पौडेलको हत्या गरिएको थियो । जसमा दोषी ठहर भई फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी कैद भुक्तान गरिरहेका थिए । तर, शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा उनीहरुलाई सरकारले आम माफी दिएको थियो । आम माफी पाउने तीनैजना नेकपाको ओली खेमा समर्थक हुन् । उनीहरुलाई ओलीनिकट भएकै कारण छुटकारा दिइएको आरोप छ ।
कारागारभित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई आम माफी दिने सरकारको निर्णयबाट अवान्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गइरहेको प्रष्ट भएको तरुण दलको आरोप छ ।
‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाह गरी उनीहरुलाई आममाफी दिइएको प्रति नेपाल तरुण दल गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गइरहेको प्रष्ट भएको छ ।’





