समाचार

भागरथीको हत्याका अभियुक्त भट्टलाई ५ दिन म्याद थप

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ ।

मंगलबार पक्राउ परेका भट्टलाई बुधबार जिल्ला अदालत बैतडीले ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।

बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्त भट्टलाई सार्वजनिक गरेको हो ।

भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् र उनकै छिमेकी रहेको खुलेको छ । उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

उनले भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको हत्या गरिदिएको प्रहरीलाई बताएका छन् ।

घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो । ती युवक भागरथीको न्यायका लागि हुने प्रर्दशनमा समेत सहभागी हुने गरेका थिए । प्रहरीले भट्टललाई पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट करिब ३० मिटर तल झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *