समाचार

पर्साका चार गाउँपालिकाका १० हजार मतदानबाट वञ्चित हुने

पर्सा । आउँदो वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करीब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्चित हुने भएका छन् । विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिएका व्यक्तिको मतदाता सूचीमा नाम अद्यावधि हुन नसक्दा करीब १० हजार व्यक्ति मतदान गर्नबाट वञ्चित हुने सम्बन्धित गाउँपालिकाका पदाधिकारीको भनाइ छ ।

पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी तथा ठोरी गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता प्राप्त गरे पनि मतदाता सूचीमा नाम आउन नसकेपछि तिनीहरुले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत खसाल्नबाट वञ्चित हुने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले बताए ।

विसं २०७४ को मतदाता सूचीअनुसार पटेर्वासुगौलीमा ११ हजार ७ सय ६०, ठोरीमा ११ हजार ६ सय ८५, जगरनाथपुरमा १५ हजार ५ सय ६२ र जिराभवानी गाउँपालिकामा ११ हजार ३ सय ५० मतदाता रहेका छन् । पुस ६ गते यता नागरिकता लिएका व्यक्तिको मतदाता परिचयपत्र बन्न नसक्ने, यसअघिका छुटेका व्यक्तिको पनि मतदाता नामावलीमा नाम समावेश नहुने निर्वाचन हुने मितिको घोषणा भइसकेपछि मतदाता नामावली अद्यावधि गर्ने काम बन्द भएकाले नागरिकता लिएका व्यक्तिको नाम मतदाता सूचीमा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गौरीशङ्कर चौधरीले बताए।

निर्वाचन कार्यालयले कर्मचारीको अभावमा टोली खटाउन नसकिएको भनेर झारा टार्ने काम गरेको आरोप लगाउँदै पटेर्वा सुगौल गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुले यस क्षेत्रमा रहेका विभिन्न पार्टीले १८ वर्ष उमेर पुगेका मतदाताको नाम सङ्कलन गरे पनि टोली नआएकाले उनीहरुको नाम मतदाता सूचीमा राख्न नसकिएको बताएकी छिन् ।

इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता लिएका व्यक्तिको नाम मतदाता नामावलीमा सूचीकृत हुन नसकेकामा उनीहरुले आफ्नो मत खसाल्ने मताधिकार हनन् भएको भन्दै सो कार्यको विरोध गरेका छन् । सरकारले घोषणा गरेको प्रतिनिधिसभाको वैशाख १७ र २७ गते हुने निर्वाचन अन्तर्गत प्रदेश २ मा पहिलो चरणमा वैशाख १७ गते निर्वाचन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *