समाचार

काठ सहज भएपछि निर्माण कार्य अघि बढ्यो

काठमाडौं । सहजरूपमा काठ उपलब्ध हुन थालेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । दुई महिनाअघि लामो काठको अभावमा निर्माण भइरहेका एतिहासिक सम्पदाको काम अघि बढ्न सकेको थिएन ।

विगत दुई हप्ताअघिदेखि काठ आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामो काठको अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदाको निर्माणको काम तीव्ररुपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । यस क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ ।

प्रमुख खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनःनिर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।

यसैबीच भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । पुनःनिर्माणपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने बताइएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनःनिर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेका थिए ।

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा वि. सं. १९६५ सालमा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो । शुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाटको आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ ।

त्यसैगरी हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनःनिर्माणको काम पनि आगामी वैशाखमा सक्ने गरी भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले ८५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । ती ऐतिहासिक सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो भन्ने इतिहासका पुस्तकमा लेखिएको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै भएको इतिहासमा उल्लेख भएको शर्मिला पाठकको बाइलाइनमा राससले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *