समाचार

द्रुत मार्ग खुलेपछि बस्ती विस्तार तीव्र

डोटी । डोटीका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने द्रुत मार्ग खुलेपछि बस्ती विस्तारमा वृद्धि भएको हो ।

सुरुवातीका समयमा सुनसान रहेका यहाँका बस्ती अहिले बाक्लिँदै गएका छन् । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यापारी सुनिल विष्टले जानकारी दिए ।

उनले भने, “पहिले यहाँ व्यापार खासै थिएन, अहिले द्रुत मार्ग खेलेपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय पनि राम्रो फष्टाएको छ ।”

द्रुत मार्ग खुलेपछि कैलालीको, हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको विपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका दर्जनौँ स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् । यसअघि यी गाउँमा जग्गाको कारोवार खासै नहुने गरेको गड्सेराका स्थानीयवासी लालबहादुर कामीले बताए।

उनले भने, “बीच खेत भएर द्रुत मार्ग खुलेको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महँगो हुँदै जान थालेको छ ।” उनकाअनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकासिएको छ । सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकाम सरह हुन थालेको छ । यहाँका गाउँको बाटोहुँदै द्रुत मार्ग पुगेपछि पसल, होटलसँगै व्यापारिक कारोबार बढेको स्थानीयवासीको भनाइ छ ।

डोटीका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेपछि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेलले जानकारी दिए । उनले भने, “ द्रुत मार्ग खुलेपछि यहाँका ग्रामीण क्षेत्र व्यापारी केन्द्र बन्न थालेका छन्, आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम आउन करिब–करिब बन्द भएका छन् ।” यहाँका विपीनगर, खसरे, निगाली तथा शिवनगर क्षेत्रमा ठूलाठूला पसल तथा होटेल निर्माण भई सञ्चालनमासमेत आउन थालेको स्थानीयवासी बताउँछन् ।

पछिल्लो समय ती स्थानमा घर जग्गाको मूल्य अकासिएको छ । द्रुत मार्गले छोएका सडक आसपासमा धमाधम घर घडेरी निर्माण भइरहेका छन् । यहाँको विपिनगर तथा शिवनगर क्षेत्रमा विगतमा रु दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन् ।

गाउँका जग्गा सस्तोमा बेचेर शहरी क्षेत्रमा गएकासमेत द्रुत मार्ग खुलेपछि पुनःगाउँ फर्कन थालेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय रोज बहादुर कलेलले बताए। उनले भने, “विगतमा गाउँमा सेवा सुविधा नभएको भन्दै तराई झरेका पनि अहिले द्रुत मार्ग खुलेपछि गाउँ फर्किन थालेका छन्, द्रुत मार्ग चहलपहल बढाएको छ ।” सदरमुकामका प्रतिष्ठित व्यापारीलेसमेत यहाँका विपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ । यही कारण पसल, होटेल तथा कृषि फर्म गाउँमै खुल्न थालेको उनीहरु बताउँदछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *