समाचार

कांग्रेसले सरकारलाई भन्यो, केरुङ नाकाबाट आयात–निर्यात सहज तुल्याऊ

काठमाडौं । नेपाली कांग्रेसले चीनको केरुङ नाकाबाट आयात–निर्यात सहज तुल्याउन सरकारसँग माग गरेको छ । कोरोनाको कहर देखाउँदै चीनले नेपालतर्फ आउने मालवाहक कन्टेनर रोकेर राखेको छ । व्यवसायीहरूका अनुसार अहिले केरुङ नाकामा १५ सयभन्दा बढी नेपाली कन्टेनर अलपत्र अवस्थामा छन् ।

केरुङ नाकाबाट दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको भन्दै कांग्रेसले आयात सहज बनाउने पहल गर्न सरकारसँग माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै व्यवसायी मर्कामा परेको र राजश्व संकलनमा पनि असर परेको भन्दै चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गर्ने क्रममा सरकारले केरुङ नाका पनि बन्द गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *