समाचार

पूर्वमन्त्रीको उपचारमा आर्थिक अभाव भएपछि वनमन्त्री आलेले गरे आर्थिक सहयोग

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का पूर्वसहायकमन्त्री लालबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको छ । ब्रेनस्ट्रोक रोगले पीडित भई काठमाडौँमा रहेको स्पार्क हेल्थ होम अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका उनलाई उपचारमा आर्थिक समस्या भएको खबर पाएपछि मन्त्री आलेले अस्पतालमै गएर उपचारका लागि आर्थिक सहयोग गरिएको उनका स्वकीय अधिकृत धिमलाल जोशीले बताए ।

उनले भने, “पूर्वमन्त्री बिरामी भएको जानकारी पाएपछि वनमन्त्री आलेले अस्पतालै गएर भेटघाट तथा स्वास्थ्य अवस्था बुझ्नुभयो र केही आर्थिक सहयोग पनि दिनुभएको छ ।” विगत लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापले थला पर्नुभएका पूर्वसहायकमन्त्री विकको उपचारका लागि अझै पाँच÷छ महिना जति लाग्ने उपचारमा संलग्न चिकित्सकले सल्लाह दिएको उनका ज्वाइँ कमल विकले जानकारी दिए ।

विकको शरीरको दाहिने पाटो नचल्ने अवस्थामा रहेको र बोलीमा प्रष्टता नभए पनि सुधार हुने क्रम जारी रहेको स्पार्क हेल्थ होम अस्पताल डा सुनिल पौडेलले जानकारी दिए । पूर्वसहायकमन्त्री विक जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गराउन पहल गर्ने प्रमुख व्यक्ति रहेको उनका परिवारले जनाएको छ । उनको उपचारमा दैनिक आठदेखि नौ हजारसम्म खर्च आउने गरेको बताइएको छ । उपचारमा अर्थाभाव भएपछि उहाँका परिवारले आर्थिक सहयोगका लागि सबैमा आग्रहसमेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *