काठमाडौँ । २०५२ फागुन १ गते । तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको दिन । ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि यो दिवस गत वर्ष मात्र एकीकृत रूपमा मनाइयो । तर यो वर्ष भने त्यस्तो हुने छैन ।
नेकपा ओली समूह र प्रचण्ड नेपाल समूहमा विभाजित भएकाले दिवस मनाउने दृष्टिकोणमा पनि विभाजन छ । ‘जनयुद्ध’ दिवस यो वर्ष नेकपाभित्र प्रचण्ड–नेपाल समूहले मात्रै मनाउँदै छ । ओली समूहमा पनि गृहमन्त्री रामबहादुर थापा बादल समूहले मनाउने भएको छ । शनिबार आयोजित कार्यक्रमलाई बादलले सम्बोधन गरेका छन् ।
प्रचण्ड नेपाल समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा आयोजना गरिएको छ ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।
१० वर्षे कथित जनयुद्ध २०६२\६३ मा सकिएको थियो । सो वर्ष माओवादीहरु शान्तिपूर्ण राजनीतिमा आएका थिए । कांग्रेस नेतृत्वको सरकारले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएको थियो । कम्युनिस्टबीच एकता भए पनि वर्तमान प्रधानमन्त्री केपी ओली भने माओवादीको नामै सुन्न चाहँदैनन् ।




