समाचार

एयरपोर्टको धावनमार्ग मर्मत सुरु, साना जहाजले मात्र उडान भर्दै

खाँदबारी । सङ्खुवासभाको तुम्लिङ्गटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार सुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ ।

तुम्लिङ्गटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ । धावनमार्गको मर्मतका लागि ठूला जहाजको उडान भने बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार यो विमानस्थलको धावनमार्गको मर्मत कार्य आगामी चैत २ गतेसम्म चल्ने छ । सो अवधिसम्म आधा धावनमार्गको प्रयोग गरी साना जहाजबाट भने उडान हुनेछ ।

पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो । बुद्ध एयरले समेत एक महिनाका लागि काठमाडौं–तुम्लिङटार रुटको उडान बन्द भएको जानकारी गराएको छ । ट्वीनअटर जहाजबाट उडान गर्दा यात्रुलाई आवतजावतमा समस्या भएको छ ।

विमानस्थलको धावनमार्गको कालोपत्र खाल्डाखुल्डी पर्ने र उप्किएपछि जहाज उडानमा खतरा पर्ने देखिएपछि मर्मत गर्ने काम सुरु भएको हो । एक वर्षअघि २०७६ चैत ३ देखि धावनमार्ग मर्मत गर्न एपेक्स कन्ट्रक्सन कम्पनीलाई ठेक्का दिएपनि विश्वभर फैलिएको महामारीका कारण धावनमार्ग मर्मतको काम हुन सकेको थिएन । गत कात्तिकदेखि धावनमार्ग मर्मतको काम सुरु गरिएको एपेक्स कन्ट्रक्सन कम्पनीका प्रतिनिधि लालध्वज लामाले जानकारी दिए ।

उनले तुम्लिङ्गटार विमानस्थलको धावनमार्गको काम दुई महिनाभित्र सक्ने गरी दिनरात पाँच दर्जन बढी कामदार खटाइएको जानकारी दिए । विसं २०७७ चैत ३ गतेसम्म रनवे मर्मतको काम सक्ने गरी सम्झौता भएपनि फागुन १७ गतेभित्र नै काम सक्ने गरी लागिपरेको कन्ट्रक्सनका प्रतिनिधि लामाको भनाइ छ । तुम्लिङ्गटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४ सय २० मिटर लामो रहेको छ ।

दश वर्षअघि विमानस्थलको धावनमार्ग कालोपत्र पनि यही कम्पनीले गरेको थियो । त्यसमा अहिले ७ सय मिटर आधा भाग मर्मतको काम भइरहेको छ । अहिले साना जहाजले ७ सय मिटरको धावनमार्गमा उडान भर्दै आएका छन् । अहिले धावनमार्गको दक्षिणतर्फको ७ सय मिटरमा काम भइरहेको र त्यो क्षेत्र सम्पन्न भएपछि उत्तरतर्फको धावनमार्गको काम सुरु हुनेसमेत उनले जानकारी दिए ।

विमानस्थलमा पूर्णरूपमा जहाज बन्द गरिँदा बिरामी र वृद्धवृद्धालाई असहज परिस्थिति सिर्जना हुने भएकाले साना जहाजले दैनिक उडान भर्न थालेको यती एयरलाइन्सका तुम्लिङ्गटार प्रतिनिधि प्रताप गुरुङले जानकारी दिए । अहिले तुम्लिङटार विमानस्थलमा यती एयरलाइन्स (१६ सिट भएका), तारा जहाजले उडान भर्दै आएका छन् । यसैगरी धावनमार्गमा बुद्ध एअर, समिट एअरले दैनिक तुम्लिङटार–काठमाडौँ सिधा उडान भर्दै आएका छन् भने हप्तामा दुई दिन सोमबार र शुक्रबार तुम्लिङटार–विराटनगरसमेत उडान भर्दै आएका छन् । यसअघि यती र बुद्ध एयरलाइन्सका २७ सिटे जहाजले दैनिक तुम्लिङटार–काठमाडौँ उडान भर्दै आएका थिए ।

पूर्वी नेपालको सङ्खुवासभा जिल्ला सडक यातायातले जोडिएको जिल्ला भए पनि सडकको स्तरोन्नति हुन नसक्दा सवारी यातायातको सुविधा त्यति प्रभावकारी बनेको देखिँदैन । खाँदबारीदेखि धरान–विराटनगर जाँदा आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । यसैगरी सङ्खुवासभामा ठूला अस्पताल र शैक्षिक संघसंस्था नहुँदा धरान, विराटनगर र काठमाडाैं नै धाउनुपर्ने बाध्यता छ । हवाई यातायातका लागि एकमात्र भरपर्दो तुम्लिङटार विमानस्थल हुँदै सङ्खुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालगायतका नागरिकलाई तुम्लिङ्गटारबाट नै विराटनगर र काठमाडौं जान नजिक पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *