काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउप्रति आपत्ति जनाएका छन् । उनलाई पक्राउ गर्नु संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु भएको नेता गुरुङको भनाइ छ ।
उनले ओली सरकार निरंकुश तानाशाही भएको भन्दै मर्ने बेलामा कमिलाको प्वाँख उम्रिनु नौलो कुरा नभएको भन्दै ओली सरकारको प्वाँख उम्रिसकेको टिप्पणी गरेका छन् ।
नेता गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्– ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु हो। तानाशाही सरकारको जति निन्दा गरे पनि कम हुन्छ। तर मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन। निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थालिसके छ।’
राष्ट्रपतिको आलोचना गर्दा झाँक्रीविरुद्ध राज्यविरुद्धको कसुरको अभियोग लगाइएको छ । यो कसुरमा सात वर्षदेखि ७० हजार जरिवानासम्म सजाय तोकिएको छ ।




