मुख्य समाचार

रामकुमारी झाँक्री निवासमा ‘ओली, विद्या मुर्दावाद’ को नाराबाजी, प्रहरीले बुझायो पक्राउ पुर्जी

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा प्रहरी टोली पुगेपछि अहिले नेकपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

ठूलो संख्यामा भेला भएका नेकपा कार्यकर्ताले प्रहरी पक्राउको तयारीप्रति विरोध जनाउँदै प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरूले प्रतिगमनकारी ओली मुर्दावाद, केपी–विद्या बाईबाई, ओली–विद्या मुर्दावाद, खड्ग ओली देश छोड, प्रहरी हस्तक्षेप बन्द गर, खड्ग ओलीको पाराले दुःख पायो साह्राले जस्ता चर्काचर्का नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको आलोचना गरेको भन्दै प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउको तयारी भएको हो । प्रधानमन्त्री केपी ओलीले नेतृ झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् । सोही कारण प्रहरी टोली बिहीबार बिहानै झाँक्री निवास पुगेको हो ।

नेतृ झाँक्रीले राजनीतिक मुद्दा भएको भन्दै पक्राउ पुर्जी लिएर आउन भनेपछि प्रहरी अहिले पक्राउ पुर्जी लिएर पुगेको छ । सो पत्र प्रहरीले झाँक्रीलाई बुझाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *