काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ पुर्जी जारी गरेर आफूलाई लिन आउन प्रहरीलाई चुनौती दिएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आलोचना गरेको विषयमा सोधपुछ गर्न भन्दै बिहीबार काठमाडौंका एसएसपी दीपक थापाले झाँक्रीलाई प्रहरी कार्यालय आउन फोन गरेका थिए । लगत्तै उनले डीएसपीको कमान्डमा एक प्रहरी टोली शंखमूलस्थित घरमा पठाएको थियो ।
तर, नेतृ झाँक्रीले प्रहरीले बोलाउँदैमा आफू नजाने स्पष्ट पार्दै पक्राउ पुर्जी जारी गरेर लिन आए आफू जाने पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी छन् ।
‘तपाईंलाई सोधपुछ छ, आइदिनुहोला भनेर एसएसपी दीपक थापाले फोन गर्नुभएको थियो,’ निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले भनिन्, ‘मैले यो राजनीतिक मुद्दा हो, कानूनी मुद्दा होइन, हामी सडकमै छौं भनें । राज्यले चाह्यो भने नागरिकलाई नियन्त्रणमा लिनसक्छ । विनाकारण पनि २४ घण्टा नियन्त्रणमा राख्न सक्छ, म आउँदिन । आवश्यक परे पक्राउ पूर्जी जारी गर्नुस्, आउनुस् ।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रकालीन भद्दा अभ्यास गरिरहेको आरोपसमेत लगाइन् । राष्ट्रपतिले प्रधानमन्त्रीको असिस्टेन्टका हिसाबले काम गरिरहेकोसमेत उनको भनाइ थियो । ‘गणतन्त्रको प्रतीकका हिसाबले शीतल निवासमा रजगज गरिराछन्, ती व्यक्ति हुन् नि ? जब ती व्यक्तिले राजतन्त्रकालीन भद्दा अभ्यास गर्छ– सडक जाम गर्ने, प्रहरीको तालिम केन्द्र हटाउने ? यो कुरा जनतालाई मन परेको छैन,’ उनले भनिन् ।




