काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई राष्ट्रपतिको आलोचना गरेकै आधारमा गिरफ्तार गर्ने कार्य निकै भारी पर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकै आधारमा उनलाई पक्राउ गर्न बिहीबार बिहान डिएसपी नेतृत्वको टोली शंखमूलस्थित उनको निवास पुगेको थियो । यो खबर मिडियाबाट सार्वजनिक भएलगत्तै प्रचण्ड–माधव समूहले सरकारको आलोचना गरेको हो ।
हिजो राजतन्त्रकालमा राजारानीको आलोचना गर्दा पनि पक्राउ नगरिएको स्मरण गर्दै नेता रिजालले राष्ट्रपतिको आलोचना गरेको अभियोगमा गिरफ्तार गर्न खोज्नुले आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् भनेका छन् ।
‘राजतन्त्र भएको बेलामा पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन् भनेर सडकमा नारा लाग्दा कोही समातिएन । राजा वीरेन्द्रको वंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन् भनेर बोल्दा(लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन । आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झॉक्रीलाई राष्ट्रपतिको आलोचना गरेको अभियोगमा गिरफ्तार । हेक्का रहोस् आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।




