राजनीति

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिँदा रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो, नआए पक्राउ गर्ने

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सोधपुछ गर्न बिहीबार प्रहरीले बोलाएको हो ।  

बोलाउँदा पनि उपस्थित नभएपछि नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीको अपराध महाशाखाको टोली शंखमुलस्थित उनको घरमा पुगेको छ । डीएसपीको टोली झाँक्रीलाई लिन उनको निवास पुगेको थियो । झाँक्रीलाई पक्राउ गर्ने तयारी छ । प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई झाँक्रीमाथि कारबाही गर्न दबाब बढाएका छन् ।

उनले केही दिनअघि मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवीलाई सेतो साडी लगाएर चुनावमा उठाउनु भूल भएको टिप्पणी गरेकी थिइन् ।

‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।

पछिल्लो समय उनले राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी ओलीको प्रतिगमनको सहयोगी भएको भन्दै उनलाई बालकोटतिरै पठाउनुपर्ने अभिव्यक्ति दिएकी थिइन् । झाँक्रीको यस्तो टिप्पणीसँगै नेकपा ओली समूहले उनलाई कारबाही माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको थियो।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै दुई समूहमा बाँडिएको नेकपा एकअर्का प्रति टिप्पणी र लान्छना लाउनमा उत्रिएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा पनि झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीको खरो आलोचना गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *