बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्ट भूमिकाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको छ ।
जिल्ला अस्पताल बैतडीमा भएको पोस्टमार्टमबाट भट्टको बलात्कार भएको र घाँटी थिचेका कारण मृत्यु भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले जानकारी दिए।
डीआईजी सुवेदीले सामूहिक बलात्कार हो वा होइन भन्नेबारेमा थप परीक्षण भइरहेको जानकारी बताए। उनले घटनास्थलमा प्राप्त भएका सबै तथ्यसहित भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिए।
भागरथी हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि संवेदनशीलता देखाउँदै सुवेदीलाई अपराधस्थलको निरीक्षण र अनुसन्धानको सुपरिवेक्षणका लागि बैतडी पठाएको थियो ।
बिहीबारदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि घटनाको प्राविधिक पक्षको विश्लेषणमा खटिएको छ । गएको बुधबार विद्यालयबाट फर्किने क्रममा हराएकी भागरथीको शव बिहीबार जंगलमा फेला परेको थियो ।




