सिमकोट। दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ । शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।
जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।
यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोका सामान पनि ढुवानी हुनसकेको छैन ।




