समाचार

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

गण्डकी । हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिताले जोड दिएका छन् ।

नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको १८औँ वार्षिकोत्सव समारोहका अवसरमा वक्ताले पर्वतीय पर्यटनका विविध पक्षलाई एकै स्थानमा अवलोकन गर्ने थलोका रुपमा सङ्ग्रहालयको प्रवर्द्धन एवं विकास गर्नुपर्ने बताए । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशको समृद्धि र विकासको प्रमुख आधारका रुपमा पर्यटनलाई लिइएको बताउँदै पोखराको घुम्नै पर्ने पर्यटकीयस्थलका रुपमा सङ्ग्रहालयलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

पर्यटन क्षेत्रको समग्र विकासका लागि आवश्यक कानुन निर्माणको तयारीमा प्रदेश सरकार लागि रहेको उल्लेख गर्दै उनले निजी तथा सरकारी सबै पर्यटन सम्बद्ध संघसंस्थाको क्रियाशीलता आवश्यक हुने बताए । पर्यटनको मुख्य आधारको रुपमा रहेका हिमाल र पदमार्गको संरक्षण गर्नुको विकल्प नभएको बताउँदै उनले यस्ता प्राकृतिक सम्पदालाई व्यवस्थित गर्दै विश्वसामु पुर्याउन सबै क्षत्रको साथ र सहयोगको आवश्यकता रहने धारणा राखे । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले प्रदेशको गहनाका रुपमा रहेको सङ्ग्रहालयलाई विद्यार्थीको अध्ययन अवलोकनको थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनको मुख्य आधारको रुपमा रहेको विद्यमान पदयात्रालाई बचाउँदै नयाँ गन्तव्यको खोजीसँगै आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले हिमाल विश्व समुदायको सम्पत्ति भएको उल्लेख गर्दै हिमाल र पदमार्गको प्रवद्र्धन गर्दै कोभिडको कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन कार्यालयले आवश्यक पहल गर्दै आएको जानकारी दिए ।

कार्यक्रमा सगरमाथ मापन टोलीका प्रमुख एवं नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले विश्वका आठ हजारभन्दा बढी उचाइ रहेको १४ हिमालमध्ये आठ वटा नेपालमा रहेको बताउँदै यसलाई पर्यटन प्रवर्द्धनसँग जोड्नु पर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्षा सन्तविर लामाले नेपाल सरकारले संघलाई नेपालका २७ वटा हिमालको रोयल्टी सङ्कलन गर्ने जिम्मेवारी दिएको बताउँदै त्यसबाट आएको रकममध्ये प्रदेश सरकार र सम्बन्धी गाउँपालिकालाई २५/२५ प्रतिशत र माउण्टेन कोषमा पाँच प्रतिशत प्रदान गर्दै आएको जानकारी दिए ।

धम्पुस हिमालका आरोहीलाई सम्मान
कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशद्धारा हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका आयोजित धम्पुस हिमालका आरोहीलाई सम्मान गरियो । पुन २७ देखि माघ ५ गतेसम्म आयोजना गरिएको ६ सय १२ मिटर उचाइको सो हिमाल आरोहणमा सहभागी १० मध्ये छ जनाले सफल आरोहण गरेका थिए । सफल आरोहीमा टासी पासाङ गुरुङ, हीराकुमारी मल्ल, मन गुरुङ, सनकुमारी जग्जाली, देपेसबाबु सुवेदी र सुदीप गौतम रहनुभएको पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य जीवन सापकोटाले जानकारी दिए ।

विश्व अल्ट्रा म्याराथुन धावक मीरा राईलाई अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको सद्भावना दूत, हरिप्रसाद बास्तोला संयोजक तथा जयन्ती श्रेष्ठ र निर्मलकुमारी न्यौपाने रहेको प्रचारप्रसार समिति चयन गरिएको संघका महासचिव कुलबहादुर गुरुङले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *