काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेकपा (प्रचण्ड–माधव समूह) ले माघ २८ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार ललितपुरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष माधव नेपालले प्रतिगमनविरुद्ध विशाल विरोध प्रदर्शन गरिने घोषणा गरेका हुन्। अध्यक्ष नेपालले अहिलेको लडाइँ व्यक्तिगत नभएको बताए ।
बिहीबार प्रचण्ड–माधव समूहले देशव्यापी आमहडतालको आयोजना गरेको थियो । हिजोको देशव्यापी आन्दोलनमा तोडफोड र दमन भएको थियो । सोही बन्दको विषयमा समीक्षा गर्न र आफ्नो पार्टीले आगामी दिनमा गर्ने कार्यक्रमबारे सञ्चारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको हो ।
सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतका नेताहरु उपस्थित थिए ।




