समाचार

अज्ञात रोगले मर्न थाले गाईवस्तु

हुम्ला । अज्ञात रोगको सङ्क्रमणले गाईवस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा किसानका घरपालुवा गाईवस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका अज्ञात रोगको सङ्क्रमण भई गाईवस्तु मर्ने गरेका छन् । मंगलबार मात्रै अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँमा पाँच गाईवस्तु अकस्मात मरेको स्थानीयवासी राज बहादुर बुमीले बताए ।

उनले भने, “के कति कारणले, कस्तो रोगले मरेका हुन् त्यसको बारेमा थाहा छैन्, अकस्मात पशु मर्न थालेका छन्” । यस्तै केही दिनअघि पनि धेरै ठाउँमा गाईवस्तु मरेको खबर आएका छन् । “अहिलेसम्म रोगको पहिचान हुन सकेको छैन । पहिचान हुन नसक्दा उपचार नपाएर गाईवस्तु मर्ने क्रम जारी छ”, उनले भने, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।”

सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा गाईबस्तु मर्न थालेको बुमीको दुःखेसो छ । यस सम्बन्धी कार्यालयमा कुनै जानकारी वा सूचना नआएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ । “कुन ठाउँमा हो, हामीलाई कुनै पनि जानकारी आएको छैन । यदि आयो भने हामी तत्काल गएर हेर्ने र गाउँपालिकामा भएको औषधि प्रयोग गर्ने तथा नभए प्रक्रिया अगाडि बढाउन सक्ने शाखाका प्राविधिक अमर बुमीले बताए ।

अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थलगत निरीक्षण गरे मात्र भन्न सकिने बुमीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *