संखुवासभा । पूर्वी नेपालको पहाडी जिल्ला संखुवासभामा ‘गरिखाने अभियान’ सुरु भएको छ ।
नेपाली काँग्रेसको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना विशेष समितिको आयोजनामा संखुवासभा क्षेत्र नं २ को केन्द्र चैनपुरमा नेपाल दलित सङ्घ क्षेत्रीय कार्यकर्ता भेला एवम् ‘गरिखाने अभियान’ सुरु गरिएको हो ।
विशेष समितिका सहसंयोजक एवम् नेपाली काँग्रेसका युवा नेता दिपक खड्काको विशेष पहलमा भएको उक्त कार्यक्रममा विपन्न तथा गरिब जनताको आर्थिक उन्नती गर्दै सिङ्गो संखुवासभाको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
कार्यक्रममा पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले सरकार मुलुकको विकासका लागि भन्दापनि सत्ताको लोभमा लागेको उल्लेख गर्नुभयो । “निर्वाचन जितेर गएका प्रतिनिधीहरु जनताको पीरमर्का बुझ्नभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा देशको विकास हुन सकेन,”–युवा नेता खड्काले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा गोविन्दराज पोखरेलले नेपालको समृद्धिको लागि युवालाई आत्मनिर्भर र कर्मशील बनाउनुपर्ने बताए। “युवालाई कर्मशील र गरिखाने बनाएमात्र देशको विकास हुन्छ,”–उनले भने ।
अर्थविद् राजु नेपालले ‘गरिखाने अभियान’ अभियानले विपन्न जनतालाई सहुलियतपूर्ण ऋण दिएर आयआर्जनमा लगाउने भएकाले इच्छुक व्यक्तिले लाभ लिनसक्ने बताए ।
नेपाली काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले समृद्ध संखुवासभा निर्माणका लागि गरिखाने अभियानलाई जिल्लाभरी विस्तार गर्दै लैजाने बताए।




