नेपालगन्ज । बाँकेमा हत्या गरिएका राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक (प्रहरी) को हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्नहरुलाई बाँके प्रहरीले आज सार्वजानिक गरेको हो ।
गाँजाको नशा प्रयोग गर्ने लागू औषध सेवनकर्ताहरुबाट थापाको हत्याभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोटरसाईकलको हेलमेटका बिषयमा विवाद हुँदा प्रविणको ज्यान गएको प्रहरीले बताएको छ । ७ जनाको संलग्नतामा प्रविणलाई चिर्पट दाउराले प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
घटनाको विरणअनुसार नेपालगंज उपमहानगरपालिका–१८ कालिकामाई मन्दिर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार हुने क्षेत्रको रुपमा रहेको भन्ने सुनेपछि प्रविण स्थानीय युवा कर्की भन्ने दिनेशकुमार कर्मीलाई लिएर सुचना संकलनका लागि घटनास्थल पुगेका थिए ।
घटनास्थलमा गाँजा खाँदै बसेका ३ जना नाबालकसहित ६ जना मध्य १ जनाले प्रविणसँग गएका दिनेश कुर्मीको हेलमेट जबर्जस्ती लैजाने क्रममा विवाद भएकोमा गाँजा खाइरहेका ६ जनाले चिर्पटले एक्कासी प्रविण थापाको टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापश्चात मृतक प्रविणको मोबाईल, पर्स तथा हेलमेट समेत लिएर ती युवाहरु भागेका थिए । प्रविणसँगै गएका दिनेशले समेत प्रविणलाई बचाउन वा प्रतिकार गर्न भन्दा भागेको र प्रविणको हत्याको खबरसमेत लुकाएर राखेको प्रहरीको भनाई छ ।
प्रहरीको तालिम प्राप्त कुकुरको माध्यमबाट दिनेश कुर्मीले लगाएको चप्पलबाट अनुसन्धान थालेको र अनुसन्धानले हत्यामा संलग्न सबैको पत्ता लागेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।




