काठमाडौं । रेवतराज पुरी ‘गगन’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा दमकका नेता मात्र होइनन, प्रधानमन्त्री केपी शर्मा ओलीका छिमेकीसमेत हुन् । उनै पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी जग्गा हड्पेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सरकारी जग्गा आफ्नो नाममा ल्याएर बेचेको अभियोग लागेका पुरीमाथि अनुसन्धान थालेको विभागले १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो माग्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको छ।
केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको छ। दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको विभाग स्रोतले जनाएको छ । देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो छ। सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको विभाग स्रोतले बतायो।
दमक नगरपालिका–८ (साबिक १३ र १४) मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको विभागको अनुसन्धानमा देखिएको छ। त्यसमध्ये ३० बिगाहा जग्गा बिक्री गरिसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। बाँकी चार बिगाहा जग्गा रोक्का राख्न मालपोतलाई चिठी लेखिएको उनले जानकारी दिए।
पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री वितरण गरेको विभागको अनुसन्धानले देखाएको छ। मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केही सम्पत्ति जफत गर्न माग गरिएको छ।




