काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएको केही दिन मात्रै भयो । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै बेला राईले बिहे गरेर सबैलाई आश्चर्यमा पारेका थिए । यतिबेला उनी रोमान्टिक मुडमा छन् । नेकपा ओली निकट नेताहरुका अनुसार उनी हनिमुन मुडमा छन् ।
प्रधानमन्त्री केपी ओलीले तत्काल प्रदेश सभा बैठक बोलाउन आफूले नदिने भनेर आश्वस्त पारेपछि राई हनिमुन मुडमा रहेको बुझिएको छ । राईविरुद्ध प्रदेशसभा सचिवालयमा नेकपाका प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको एक महिना नाघ्यो। माघ ७ गते तीन मिनेट बसेर स्थगित भएको प्रदेश सभा बैठक कहिले बस्छ भन्ने निश्चित छैन।
बैठक अनिश्चित भएपछि प्रचण्ड–नेपाल समूह विरोध सभासँगै र कांग्रेससँग सत्ता समीकरणको छलफलमा केन्द्रित छ। तर, नेकपा विवादका कारण सभामुख प्रदीपकुमार भण्डारीले दलसँग बैठकको मिति तोक्ने विषयमा छलफल चलाउन सकेका छैनन्। ओली पक्ष मुख्यमन्त्री राईले निलम्बन गरेका सांसदलाई बैठकमा उपस्थित हुन नदिने रणनीतिअनुसार प्रदेश सभा राख्न नदिने पक्षमा छ ।




